Thursday, June 9, 2011

माओवादी अध्यक्षद्वारा लडाकुलाई निर्देशन ।

 



माओवादी अध्यक्ष पुष्पकमल दाहालले तीन दलबीच भएको पाँचबुँदे सहमतिअनुरूप शान्ति प्रक्रियालाई तीव्रतासाथ अघि बढाइने भएकाले समायोजन र पुनःस्थापनाका लागि तयार रहन लडाकु कमान्डरहरूलाई निर्देशन दिएका छन् ।    

नयाँबजारस्थित निवास नजिकैको एक हलमा भएको भेलामा अध्यक्ष दाहालले सात मुख्य र २१ सहायक शिविरका कमान्डर तथा उपकमान्डरलाई मातहतका लडाकुलाई पनि यसैअनुरूपको जानकारी दिन भनेका छन् ।

'सेना मातहत छुट्टै महानिर्देशनालयमा समायोजन हुने भए पनि मोडालिटी,

नम्र्स, संख्या, तह निर्धारण र जिम्मेवारी सम्मानजनक हुनेछ, त्यसमा चिन्ता

गर्नुपर्दैन,' अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'तपाईंहरू समायोजन र पुनःस्थापनाका लागि तयार भएर बस्नुस् र मातहतका साथीलाई पनि सोहीअनुरूपको जानकारी गराइदिनुस् ।'

समायोजन सम्बन्धमा उपाध्यक्ष मोहन वैद्यले राखेको फरक मतका कारण भ्रमको अवस्था सिर्जना भएकाले त्यसलाई प्रस्ट पार्न लडाकु कमान्डरको भेला गरिएको स्रोतले बतायो । भेलामा अध्यक्ष दाहालले आफ्नो प्रस्ताव र वैद्यले फरक मतबारे प्रस्ट पारेका थिए । माओवादी सेनाका उपप्रमुख तथा प्रवक्ता चन्द्रप्रकाश खनालले दोहोरो सुरक्षा प्रणाली र शान्ति प्रक्रियामा देखिएका विवाद र भ्रमबारे प्रस्ट पार्न जनरल स्टाफको विस्तारित बैठक बोलाइएको बताए ।

उपाध्यक्ष वैद्यले लडाकुको मात्रै बेग्लै वा लडाकुको नेतृत्वमा मिश्रति फौज बनाउने केन्द्रीय कमिटीको निर्णयविपरीत अध्यक्षले सेना मातहत समायोजनको प्रस्ताव ल्याएकाले आफूले फरक मत राखेको बताए । 'विशिष्ट परिस्थितिमा सेना मातहत समायोजन भए पनि छुट्टै बन्ने महानिर्देशनालय जनमुक्ति सेनाको मात्रै वा मिश्रति भए पनि नेतृत्व हाम्रो

हुनुपर्छ । त्यसलाई सीमा सुरक्षाजस्तो विशेष खालको जिम्मेवारी दिइनुपर्छ । अनिमात्र सम्मानजनक समायोजन हुनेछ,' उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

वैद्य पक्षधर पूर्वलडाकुसमेत रहेका पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले दुवै नेताले समायोजनसम्बन्धी आफ्ना धारणाको मर्म प्रस्ट पारेको बताए । 'शान्ति सम्झौतामा उल्लेख भएअनुरूप समायोजनको मर्मअनुरूप प्रक्रिया अगाडि बढाइनुपर्छ भन्ने हाम्रो मत

हो । अन्तरिम नै भए पनि सुरक्षा नीति बनाएर समायोजन गर्दा सम्मानजनक हुने र नयाँ फौजलाई सीमा सुरक्षाको जिम्मेवारी दिइनुपर्छ भन्ने हो,' उनले भने ।

भेलामा सात मुख्य शिविरका यमबहादुर अधिकारी इलाम, सुकबहादुर रोका सिन्धुली, धनबहादुर मास्की चितवन, तेजबहादुर ओली नवलपरासी, राजबहादुर बुढा रोल्पा, महेन्द्र शाही सुर्खेत र सन्तु दराई कैलालीका कमान्डरहरूलाई मात्र बोल्न दिइएको थियो । मुख्य शिविरका उपकमान्डर र २१ सहायक शिविरका कमान्डर तथा सहायक कमान्डरलाई भने कागजमा प्रश्न पठाएर आफ्ना जिज्ञासा र धारणा राख्न दिइएको थियो ।

करिब आठ घन्टा चलेको भेलामा बोल्ने र कागज पठाएर जिज्ञासा तथा धारणा राख्ने अधिकांश कमान्डरले महानिर्देशनालयको नेतृत्व लिनुपर्ने, लडाकुमै भएका पदका आधारमा तह निर्धारण हुनुपर्ने, कम्तीमा १० हजारको संख्यामा समायोजन हुनुपर्ने, समायोजन सकिएपछि मात्रै हतियार व्यवस्थापन गर्नुपर्ने, विशेष दस्ताका संरचना बनाएर सीमा सुरक्षाको जिम्मेवारी दिइनुपर्ने धारणा राखेका थिए । कतिपयले सेना मातहत मिश्रति फौज बनाउने हो कि एकल, मोडालिटी र प्याकेज कस्तो हुने भन्ने जिज्ञासा राखेका थिए ।

'शान्ति प्रक्रियाबारे पार्टीले एक मतले निर्णय लिँदा राम्रो हुने धेरैको धारणा थियो । पार्टीभित्रको विवाद हल गर्नुस्, हामीमा कुनै समस्या छैन भन्नुभयो,' लडाकुका उपप्रमुख तथा प्रवक्ता खनालले भने । दोहोरो सुरक्षा प्रणालीको अन्त्यसम्बन्धी विवादमा पनि छलफल भएको र लडाकु राखिरहेका नेता छिट्टै शिविर फर्काउनेमा सहमत भएको उनले जनाए । हतियारका कन्टेनरको साँचो बुझाउनेसम्बन्धी विवाद उठाएर मनोबल गिराउन खोजेकामा पनि केही कमान्डरले गुनासो गरेको उनले जनाए ।

छलफलमा माओवादीका सबै पदाधिकारी, सैन्य इञ्चार्ज वर्षमान पुन, पूर्वडेपुटी कमान्डर जनार्दन शर्मा, लडाकु कमान्डर नन्दकिशोर पुन, डेपुटी कमान्डर खनाल र केसी सहभागी थिए ।

भेलाको अध्यक्षता गरेका लडाकुका कमान्डर नन्दकिशोर पुनले समायोजन र पुनःस्थापना सम्बन्धमा पार्टीभित्र र बाहिर रहेको मतभेद हल गर्दै सम्मानजनक हिसाबले शान्ति प्रक्रिया अघि बढाइने बताएका थिए । सैन्य इञ्चार्ज पुनले यसबीच विशेष समितिले गरेका निर्णयबारे जानकारी दिएका थिए । केही कमान्डरहरूले अयोग्य भनी शिविरबाट हटाइएका लडाकुको व्यवस्थापन राम्रोसँग हुन नसकेकाले उनीहरूका बारेमा पनि पार्टीले सोच्नुपर्ने धारणा राखेका थिए ।


0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals