Saturday, June 11, 2011

सुडान घोटलाकाण्डमा तत्कालीन गृहमन्त्रीहरू पनि संलग्न भएको दाबी !


मधेसी जनअधिकार फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले सुडान घोटलाकाण्डमा तत्कालीन गृहमन्त्रीहरू पनि संलग्न भएको दाबी गर्दै उनीहरूलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । राजनीतिक नेतृत्वको संलग्नताबेगर कर्मचारीले मात्र त्यत्रो ठूलो घोटाला गर्न नसक्ने जिकिर छ । उपप्रधानमन्त्री यादवले राजनीतिक नेतृत्वलाई उन्मुक्ति दिएर कर्मचारीलाई मात्र दोषी ठहर्‍याइको भन्दै असन्तुष्टि जनाए । 'कर्मचारीको मात्र घाँटी निमोठ्ने कार्य उचित होइन, त्यसमा

संलग्न मन्त्रीलाई पनि कारबाही गरिनुपर्छ,' बिहीबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले भने । उपप्रधानमन्त्री यादवले दलबीच नयाँ सहमति तयार नभएसम्म वर्तमान प्रधानमन्त्री झलनाथ खनालले कुनै हालतमा राजीनामा नदिने बताएका छन् । मन्त्री यादवले सहमति नभई राजीनामा दिँदा मुलुकमा अन्योल र अस्थिरता हुने बताए । 'विकल्पको आधार तय नभई राजीनामा दिनुहुँदैन,' उनले भने, 'त्यसैले राष्ट्रिय सहमतिका आधार तयार नहुँदै प्रधानमन्त्रीले राजीनामा गरी चलखेल गर्नेलाई मौका दिनु हुनेछैन ।' सहमति नभई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि मुलुकमा उत्पन्न भएको अन्योलबाट पनि दलहरूले पाठ सिक्नुपर्ने उनको भनाइ छ । शान्ति र संविधान सुनिश्चित हुने अवस्थामा राष्ट्रिय सहमतिका साथ प्रधानमन्त्रीको नाममा सहमति बनेपछि मात्रै राजीनामा दिने उपप्रधानमन्त्री यादवको दाबी थियो । उनले सहमतिविना प्रधानमन्त्रीले राजीनामा दिँदा विगतजस्तै मुलुकमा फेरि एकपटक अस्थिरता आउने भन्दै कुनै पनि अस्थिरता आउन नदिने दृढतासमेत व्यक्त गरे । दलहरूबीच आपसी गुटबन्दी चरमविन्दुमा पुगेको र सौहार्दपूर्ण वातावरण नहुँदा संविधान निर्माणसँगै शान्तिप्रक्रिया टुङ्गोमा पुर्‍याउन नदिन अहिले पनि देशी-विदेशी समूहको चलखेल बढेको उनले दाबी गरे । 'जनआन्दोलन विरोधी र मुलुकमा परिवर्तन नचाहने समूहसँगै विदेशी समूहको चलखेल अहिले पनि तीव्र छ,' यादवले भने, 'यस्तो चलखेलबाट दल सचेत हुनुपर्छ ।' विदेशी चलखेलकै कारण फोरम विभाजन भएको उनको कथन छ । एक अर्को प्रसंगमा उपप्रधानमन्त्री यादवले पत्रकार र सञ्चारमाध्यमप्रति भइरहेको आक्रमणको निन्दा गर्दै पत्रकार र सञ्चारमाध्यमको सुरक्षा गर्न सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताए ।

0 comments:

Post a Comment

 
Design by Free Wordpress Themes | Bloggerized by Free Blogger Templates | Web Hosting Deals